Trending
Sunday, 24 April 2011

बाबुसाहेब (कथा)

रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । उसको दाजुचाहिंलाई गरिएजति खर्च ता उसलाई पनि ता गर्नु पर्ला । गरिएको खर्च पनि फेरि पानीमा जाने हो कि ! उनी विभिन्न थरिका चिन्ताले ग्रस्त थिए । अझ उनका छोराले लामालामा नङ पालेर नेल पालिस समेत लाएकोे देखेपछि ता झनै चिन्तित थिए । त्यसमाथि कानमा मुन्द्री लगाएको छ, कपाल घोडाको जगर जस्तो पारेर काटेको छ, बोली पनि केही कोक्याए जसरी बोल्दछ । ‘अब यसलाई पुरानै बाटोमा लगेर सपार्न सकिएला के त !’ उनको यो कान्छो छोरो उनका मनभरि गम्भीर प्रश्न बनेको थियो । यसलाई कतै न कतै कुनै रुपमा अल्झाउन पाए सप्रने दिशातिर लाग्थ्यो कि ! बडो व्यग्र ढंगले उनी आशा गरिरहेका थिए ।
यसै बेला एकाएक त्यो ठाउमा बाबुसाहेबको चर्चा शिखरमा पुग्यो । बाबुसाहेब को थिए, कताबाट आएका थिए, कसका के पर्थे त्यो सबै कसैलाई थाहा थिएन । उनका बारेमा जनसमुदायबाट छ्वास्सछुस्स कुराहरु मात्र सुनिन्थे । उनी बिहानै उठेर कतै जान्थे र अपरान्हतिर मात्र डेरामा फर्कन्थे । वास्तवमा उनी को हुन् ? यो प्रश्नका उत्तर विभिन्न ढंगका थिए । जस्तै—
(क) उनी ठूला मान्छे हुन् । (ख) राणाका छोरा र उच्च क्षेत्रसम्म पहुँच भएका मान्छे हुन्, (ग) विभिन्न संघसंस्थाहरु र सरकारी तथा गैरसरकारी संस्थाहरुमा गहिरो हात भएका मान्छे हुन्, (घ) दयाप्रवर र दुःखीका उद्धारक हुन्, (ङ) जागिर दिन्छन्, विदेशतिरको नोकरीका इच्छुकहरुका लागि ती सुवर्ण अवसर बाँड्छन् आदि ।
माथिका यी पाँच सूत्रहरु बाबुसाहेबको यश र कीर्ति फैलाउन प्रशस्त थिए । बाबुसाहेको यस कीर्तिको पाँचौं बुँदामा त्यस भेगका युवायुवतीहरु अति शीघ्र आकर्षित हुन पुगेको कारण नै उनको चर्चा शिखरमा पुगेको थियो । बाबुसाहेबको आकर्षणतिर आकर्षित हुनेमा त्यस भेगका युवायुवतीहरु नै बढी थिए जो बेरोजगार भएर कहिले वर कहिले पर हल्लन्थे बेकारमा, कुनै क्यारेम बोर्डतिर झुम्मिन्थे, कुनै भने चियापसलमा केटीहरुसँग इत्रिन्थे, रामप्रसादको यो कान्छो छोरो पनि यही मार्काको थियो ।
‘खेलकुद परिषदमा बाबुसाहेबकै कारणले धनमानले जागिर पायो । वायु सेवामा उहाँकै कारणले सरिताले जागिर पाई । कृष्ण भट्टराईले उहाँकै कारणले बैंकमा जागिर पाएको हो । हरि लंसालले उहाँकै कारणले ता हो नि दूरसञ्चारमा जागिर पाएको !’ यी र यस्तै खालका हल्ला समाजमा यति दू्रत गतिले बढेर गए, मानौं बाबुसाहेब भनेका जागिरका देवता हुन्, आकर्षणका केन्द्र हुन्, मानौं कुनै शक्तिशाली चुम्बकीय जीव हुन् ।
पहिले पहिले ता धेरैलाई सन्देह पनि भयो । विश्वासै लाग्न सकेन । केहीले ता शंका पनि जाहेर गरे । समाजमा एकै प्रकारको संशय भयो । तर जब छोरी शोभाका लागि जागिर खोजिमाग्न स्वयं धर्मनाथ र आफ्नो छोराको नोकरीका याचक भएर साहू रत्नमान नै जब गए अनि बाबुसाहेब माथि समाजमा रहेको संशय क्रमशः हट्न थाल्यो । अविश्वासको बादल पनि घट्न थाल्यो । विश्वासको वातावरण बन्दै गयो । आस्था र आधारको भावना बढेर जान थाल्यो । त्यसपछि मात्रै उनको चर्चा शिखरतिर जान थालेको हो ।
त्यहाँ साप्ताहिक हाट हटिया लाग्दथ्यो । हटियाका दिनमा केही मान्छेहरुका माझमा केही पात्रहरु निम्न ढंगबाट बाबुसाहेको प्रचार गर्दै थिए—
अमुक— (१)‘होइन, तपाईंंका छोराको नोकरी कसरी लाग्यो ?’
अन्य— ‘बाबु साहेबले क्या त ! बडो उपकारी होइसिंदो रहेछ ।’
अमुक (२)— ‘हँ, त्यति सजिलै नोकरी लाग्नु कस्तो अचम्म र भाग्यको कुरा हँ ? के मेरा लागि पनि कुनै बन्दोवस्त हुन्छ ?’
अन्य— ‘मेरै लागि त उहाँले कम प्रयत्न गर्नु परेन । अचेलको जमाना हो, अलेलि नटक्र्याई हुन्छ र ? जी.एम.ले ता डेढ नै माग्या अरे । धन्न मलाई भने अलिक होलै परेको थियो ।
अमुक—(२)— ‘हँ, केही ता बेहोर्नै पर्दाे रहेछ त । हामीले त्यतिसम्म ता बेहोर्नु पनि पर्छ नै । आजको जमानामा नखाई कसले काम गर्छ ?’
अन्य— ‘बल्ल बल्ल पचिसमा मिलाइदिनुभो । तर त्यति भएपछि इन्टरभ्युमा बसिदियो मात्र । जागिर स्योर । बाबुसाहेबको खुबी नै यही छ ।’
केही प्रायोजित मान्छेहरु बाबुसाहेको गुणगान मान्छेहरुको भिड पारेर यही शैलीमा गरिआएका थिए । वास्तवमा यस्ता मान्छेहरु बाबुसाहेबका प्रायोजित र भाडाका थिए । तिनीहरुले मान्छेका भिडमा बाबुसाहेबको यश विस्तारमा यही शैली अख्तियार गरेर यश फैलाइरहेका थिए । बाबुसाहेबका हातमा मानौं लड्डु थियो । समाजका सबै वर्गका मानिसहरुलाई मानौं उनी लड्डु बाँडिरहेका छन् । मानौं कुनै जीवित देवता वरदान बाँडिरहेको छ ।
केही दिनपछि आफ्ना बेरोजगार छोराछोरीहरु लिएर बाबुसाहेबकोमा पुग्ने आमाबाबुहरुको भिड हुन थाल्यो, बाक्लो गरी तँछाड्मछाड् हुन थाल्यो । परस्परमा अभिभावकहरुले आहारिस नै गर्न थाले ।
नकुलबाले बाबुसाहेबसँग गुनासो गरे— आफ्नी छोरीका लागि ।
‘म प्रयत्न गर्छु ।’ बाबुसाहेबबाट आश्वासन मिल्यो ।
दमननाथ खत्री पनि छोरो टिपेर बाबुसाहेको अघि उभिए ।
हर्कमान थापाकोबाट दुई धार्नी घिउसहित छोरो बाबुसाहेबकोमा गयो ।
अनन्त कटुवालको छोराले बाबुसाहेलाई कुनै योग्य उपहार लग्यो ।
मधेशवासी मधेशमूलका मानिसहरुलाई ता घुस खुवाउनु भनेको सास फेर्नु जत्तिकै हो । ज्वाइँ खोज्न ता पैसा पर्छ भने नोकरी खोज्न पैसा लाग्दैन भन्ने सोच पनि हुन्न उनीहरुमा । पैसा नतिरी कुनै काम भयो भने उनीहरुलाई पत्यारै लाग्दैन । उनीहरुमा घुस्याहाहरुले यस मानसिकताको विकास गराएका छन् । घुस खुवाउनु भनेको भात खानु जत्तिकै भएको छ उनीहरुका लागि । आफ्ना छोराछोरीको नोकरी पक्का गरिदिनका लागि रामशरण, अयोधिप्रसाद, किसनलालहरुले ता बाबुसाहेबको माग जति हुन्छ त्यसलाई कुनै मोल मोलाइ नगरी जतिको तति बुझाउने वचनसमेत दिए ।
केही दिनमै यसै गतिले बढेको बाबुसाहेबको यशको चर्चा शिखरमा पुग्यो ।
यसै चर्चाले रामप्रसाद जस्तो छोराको पीडा बोकेका बाबुलाई आकर्षण गर्नु स्वाभाविक थियो । उनका जेठा छोराको नोकरी पश्चिम नेपालको कुनै क्षेत्रमा भर्खरै मात्र लाग्यो भन्ने खबरले उनी आनन्दित भए पनि यो कान्छो छोराको चुल्ठो लामो हुँदै गएको दृश्यले उनी बडो व्यग्र थिए । यो नोकरी बाँडी चुँडी भइरहेको बेलामा पनि उनी पछि परे भने भोलि के होला ! उनलाई स्वास्नीले पनि करकर गरिन् । ‘ ठुलाका लागि पचास हजार खर्च गरेको होइन भर्खरै तपार्इंंले ? यसलाई पनि लगाइहाल्नु पर्छ । बाटो हेर्ने काम छैन, जानोस् जाइहाल्नोस्, लाखै रुप्या मागेछन् भने पनि दिनुपर्छ, बरु म मेरा झिटीझामटी सबै बन्धकी राख्छु । कसै गरी यसलाई अल्झाउनुहोस् ।’
पत्नीको करकरका कारणले समेत आफ्नो कान्छो छोरोलाई टिपेर एक दिन रामप्रसाद पनि बाबुसाहेबकोमा टुप्लुक्क पुगे ।
बाबुसाहेबको प्रतीक्षामा समाजका सम्भ्रान्त परिवारका चेलीबेटीहरुको संख्या पो अधिक देखे । उनका मनमा अलिकति शंका उठ्यो—उठेको शंका पानीको फोका झैं तत्कालै फुट्यो । यत्रा मानिसहरुलाई जागिरको ठेका लिएर एकैचोटि आएको छ । कतै यस मान्छेले फटाइँ ता गरिरहेको छैन ? जागिर दिलाएबापत ५० देखि माथि नै लाग्छ भन्ने सुनेको छु । विदेशतिर पठाउन भने यो भन्दा पनि बढी लाग्छ अरे । समाजका धेरैका छोराछोरीहरुलाई जागिर लगाइदिने काम गरिरहेका यस मान्छेका बारेमा शंकाका यी बुँदाहरु रामप्रसादका दिमागभरि मडारिइरहे । पालो नमिचिएकोले बाबुसाहेबसँग बिन्ती बिसाउने उनको पालो बल्ल बल्ल आयो ।
उनका मनमा रहेको संशय बाबुसाहेबको दर्शन पाउनासाथ कता भाग्यो उनलाई थाहै भएन । बाबुसाहेब निश्चय नै भव्य थिए । दारी काटेर सफाचट भएका । गोलो आकृति, ठुलो र बान्किलो अनुहार, मधुरो बोली भएका । दौरा सुरुवाल कोट टोपीको नेपाली राष्ट्रिय पहिरनमा बसेका । मानौं नेपाली राष्ट्रियताको प्रतिमूर्ति बसेको छ । त्यसका साथै भव्य कोठा । मगमग बास्ना आएको छ । अत्तर छर्किएर सुवासित वातावरण छ । त्यहाँ पस्नासाथ रामप्रसादको सौहार्द्र रुपमा बाबुसाहेबसँग निकै लामो गफगाफ भयो । बाबुसाहेबका अघि जानीनजानी रामप्रसादले दरबारिया हजुरिया भाषा बोले । अन्तमा आफ्नो छोरालाई कतै कुनै संस्थामा जागिर लगाउन पाए हुँदो हो भन्ने आशय पनि प्रकट गरे । बाबुसाहेबले बडो उदारताका साथ उनको छोरालाई कुनै राम्रो संस्थानतिर जागिर लगाइदिने आश्वासन दिए ।
“बाहिर असिस्टेन्टसँग कुरा गर्नुहोस् । तपार्इंहरुकै सेवामा आएको छु । तपार्इंहरुको काम नगरे कस्को गरुँ ? म ता जनताजनार्दनको सेवक मात्र हुँ । भर पर्नुहोस् !” यसरी बाबुसाहेबले रामप्रसादलाई राम्रो गरी आश्वासनका साथ बिदा गरे ।
रामप्रसादले बाबुसाहेबको कक्षबाट बाहिर निस्किएर बाबुसाहेबका असिस्टेन्टसँग भरसक उनको छोरालाई कुनै बंैंकको जागिरमा लगाउनका लागि भित्र कुरा भएको जनाउ गरे । बाबुसाहेबका असिस्टेन्टले उनका साथमा अलिक साउतीको भाषामा बैंकमा जागिर लगाउमा भने खर्च अलिक बढी नै लाग्ने कुरा ग¥यो ।
“जागिर पक्का हुने भए कबोल गर्छु नै !” रामप्रसादले अन्तमा कबोल गरे ।
“स्योर.... स्योर !” रामप्रसादले कबोलेपछि असिस्टेन्टले भन्यो । र अन्तमा त्यस कामका लागि अरुलाई नभन्ने सर्तमा रु पचास हजारमा मिलाइदिने मन्जुरी भयो ।
रामप्रसादलाई पनि लाग्यो—‘मुले पचास हजार उस्तै बैंक परेछ भने ता एक दुई महिनैमा कमाइहाल्छ नि, केको झन्झट ! दिनुपर्छ नि पचास हजार ।’
रामप्रसाद घर पुगेर हातमुख धुँदै मात्र थिए जेठो छोरा टुप्लुक्क आइपुग्यो । रामप्रसादलाई अलिकति शंका लाग्यो— भर्खर जागिरे भएको मान्छे किन यसरी अचान आइपुग्यो हँ ? नयाँ नयाँमा यसरी जागिर छाडेर हिंड्नु नहुने........। छोराको अनुहार यसो हेरे—कालो अनुहार, क्लान्त, खिन्न र रुग्ण जस्तो लाग्यो । भर्खर जागिर पाएको मान्छे स्वस्थ र प्रसन्न हुनु पर्ने हो । के भएछ र यो मान्छे यसरी एक्कासी थाहै नदिई घर आयो ? बुढाका मनमा अझै शंका थपिए ।
“होइन, तँ ता थाहै नदिई एक्कासी आइस् नि त छोरा ! के हो कुरा ? सन्चै ता छस् ?” बुढाले संशयपूर्ण आवाजमा छोरालाई सोधे ।
“लुटियो, ठगियो, मरियो नि अब ! अरु के हुन्थ्यो !’ बाबुका अघि छोराले रहस्यपूर्ण वाक्य राख्यो ।
‘कुरा के हो ? नघुमाई भन् न । के लुटियो, के ठगियो भन्या ?” सोधे ।
“एउटा फटाहाका भरमा परिएछ । जागिर दिउँला भन्यो । भनेजति पैसा लियो अनि सुइँकुच्चा ठोक्यो राति नै कता गयो कता ! भेटेपनि मार्ने थिएँ । जागिर ता कता हो कता पैसा समेत पो उडायो ।” अझै खुलस्तै गर्दै विस्तारका साथ आपूm र आफूजस्तै धेरै अरुअरु साथीहरु पनि ठगिएको कुरा रामप्रसादका जेठा छोराले बडो क्लान्त हुँदै ग¥यो ।
“हँ...!!” पूरा कुरा बुझेपछि पो रामप्रसादको खुट्टा जमिनमा भासियो । रामप्रसादले एक्कासी जमिनमा ढलेको अनुभव गरे । उनलाई हजारौं बिच्छीले एकै पटक टोकेको जस्तो भयो । जेठो छोराको नोकरीका लागि पचास हजार खर्च भएको थियो । सम्झेर तुरुक्क आँसु झारुँलाझैं गरे । निकै बेरपछि पो भर्खरै सानो छोराको नोकरीका लागि भेट्न गएका बाबुसाहेबबारे उनको दिमागमा सोच पुग्यो । के यो पनि त्यस्तै कुनै फटाहा ता होइन ? उनका मनमा विचारका तरङ्हरु दौडिए । राम्रोसँग छानवीन गर्नै पर्ने निष्कर्ष उनले निकाले । बाबुसाहेब जस्तै गरी राजासाहेबको नाममा उनका जेठा छोराबाट जागिर दिलाउने वाचा गरेर पैसा झारेको रहेछ । पछि त्यो मान्छे रसरंगतिर बढी लागेछ र त्यही रसरंगको लोभमा डुबेका केही युवतीहरुलाई भारततिर लिएर गएछ । त्यसैका कारणले छोरो लुटिएछ । छोराले जागिर खायो होला भनेको ता राजासाहेबलाई जागिरको नाममा पैसा लुटाएर पो आएछ । बिस्तारै रामप्रसादले यो कुरा बुझे । अनि खुइय्य गरे । जे हुने भैगयो अब के गर्ने त ? उनले भइसकेका कुरामाथि चित्त बुुझाउनुबाहेक अर्काे उपाय देखेनन् । कसै गरी चित्त बुझाए ।
निश्चय नै यो बाबुसाहेब भनाउँदो पनि कुनै फटाहा नै हुनुपर्छ । प्रहरीमा जागिर लगाइदिन्छु, सेनामा नोकरी लगाइदिन्छु, बैंकमा जागिर दिलाउँछु भनी भनी गाउँगाउँ डुलेर सर्वसाधारणलाई लुटिरहेका छन् भन्ने कुरा उनका मनमा झल्याँस्स आयो । अनि बडो संशयका साथ रामप्रसादले बाबुसाहेबका बारेमा निश्कर्ष निकाले—यो कुनै गतिलो मान्छे होइन । कतै अस्ति दामोदरकी छोरी बेच्ने उद्योगमा लागेको फटाहा ता होइन ? उनका मनमा निकै थरिका शंकाहरु उब्जन थाले । विचारका तरङ्गहरु पनि दौडिए । भोलिपल्ट रामप्रसादका कानमा छ्यास्स प¥यो—बाबुसाहेब डेरा सर्दैछन् । बाबुसाहेब अलिकति मात्र पनि गतिलो मान्छे हुन् भन्ने भावना पनि अब उनका मनबाट हट्न थाल्यो । कति कुम्ल्याउनु थियो कुम्ल्याइसक्यो, अब भाग्ने भो बजिया । केही नगरी हुन्न । उनले सोचे । छोराको बेहाल देखेर उनलाई ठुलो पश्चात्ताप पनि भइरह्यो । ठुलो ठगाइमा परेको आफ्नो छोराको दशा देखेर आहत भएका रामप्रसादका मनभरि आक्रोश पनि थियो त्यसैले उनी त्यो दिनभरि घरमा बसेनन् ।
जजसले बाबुसाहेबकोमा जागिर प्रार्थी भएर रकम बुझाएका थिए रामप्रसादले तिनलाई बाबुसाहेबका बारेमा सतर्क गराए । उनले पैसा सोरसार गरेर भाग्ने दाउ खोजेको हुनुपर्छ भन्ने कुरा गरे । जागिर भनेको यसरी कसैले बाँड्दै हिंड्ने वस्तु होइन भन्ने कुराको जानकरी गराएर केहीलाई आफ्ना पक्षमा पारे । बाबुसाहेबप्रति जो सन्देह गर्थे तिनीहरु रामप्रसादको पक्षमा देखिए अनि उनलाई साथ दिने भए । जसलाई बाबुसाहेबका बारेमा अन्धविश्वास थियो उनीहरु रामप्रसादलाई अलि दिन विचार गर्न सल्लाह दिइरहेका थिए ।
दामोदरकी छोरीले बाबुसाहेब को हो भन्ने कुरा आजै चिनेकी थिई । त्यसरी स्पष्टसँग चिनाजानी हुँदाहुँदै पनि कसैले साथ दिंदैन भने नदेओस्, पछि आफैं पछुताइहाइल्छ नि ! रामप्रसादले सोचे । दामोदरकी छोरी भारततिर बेचिएकी चेली थिई, कसरी कसरी पुलिसको सहयोगमा भागेर आइपुगेको केही दिन मात्र भएको थियो । त्यसरी बेचिएकी केटीले बाबुसाहेब भनेको त्यही मान्छे हो जसले उसलाई भारततिर बेचेको थियो भन्ने कुरा गरेपछि र यो थाहा भएपछि रामप्रसादको रगत उम्लिन थालेको थियो ।
“हामी तल पर्नु हुन्न । छोरीलाई राम्रो गरी सोध्नुहोस् । तिनलाई बेच्ने यही मान्छे हो होइन ?” रामप्रसादले दामोदरसँग त्यस दिन दिउसो अझ स्पष्ट हुनका लागि सोधेका थिए ।
दामोदरले केके उत्तर दिएपछि फेरि रामप्रसादले नै केरेका थिए—“भन त मित्र, उसलाई बेच्ने मान्छे यही हो भनेर कसरी चिनिछे त तिम्री छोरीले ? ”
“मेरी छोरीलाई नेपालगन्जबाट बम्बैतिर पठाउने मान्छे यही रहेछ !” दामोदरले रामप्रसादलाई नभनी धर पाएनन् ।
“मत्लब, तिम्री छोरी सीतालाई बम्बैको बजारमा बेच्न पठाउने मान्छे यही नै रहेछ त ?” रामप्रसादले फेरि पनि सोधे ।
“अँ त ! आजै बिहान जागिर दिन्छन् अरे भनेर म पनि छोरीलाई लिएर गा’थें । उसकोमा पस्नासाथ छोरी ता अतालिई । बाबुसाहेब भनाउँदा चोट्टाको अनुहार देख्नासाथ उसमा कताकताबाट आक्रोश भरिएर आएछ त्यसका मुखमा खकारेर थुकिदिई र भागी बाहिरतिर ! अनि तुरुन्तै पुलिसलाई बोलाएर यसलाई पक्डाउनु पर्ने कुरा मसँग गर्न थाली” दामोदरले सबै वृत्तान्तको खुलासा गरे । अब बाबुसाहेबको नकाब खुल्न थालेको थियो त्यस ठाउँमा । अलिअलि गर्दै शंका देखा पर्न थालेको थियो । अन्धकारमा विश्वास गर्नु हुन्न भनेर रामप्रसाले दिउसो भरि छरछिमेकीलाई सतर्क गराएका थिए । आफ्नो छोरो यस्तै ठगहरुको करतुतमा परेकोले सतर्क हुनै पर्ने उनले छरछिमेकीसँग जिकिर गरेका थिए ।
“ए, भेद खुलेछ र पो भाग्न लाग्या रैछ चोर ता” दामोदरका कुरा सुनेपछि रामप्रसादले भने । “यसलाई ठोक्नुपर्छ, भोलि बिहान अँधेरैमा यसलाई नठटाई हुन्न । बरु तपाईं पनि तयारी भएर बस्नुहोस् । अझै सोध्नुहोस् छोरीलाई । उसलाई बेच्ने मान्छे यही हो होइन भनेर । अर्कै मान्छे रैछ भने ता हामी पो पर्छौं त ।” रामप्रसादले दामोदरसँग अझै भने । रामप्रसादका कुरामा दामोदरले पनि सहमति जनाए ।
भोलिपल्ट झिसमिसे बिहानैको कुरा हो ।
बाबुसाहेबको डेराअघि धेरै मान्छेहरुको जमघट थियो । रामचन्द्र, हरि, चन्द्रमान, दामोदर, रत्नमान, नरमान, अर्जुन आदि जमघटमा थिए । अर्थात् जसजसले बाबुसाहेबलाई जागिरको लोभमा परेर रुपियाँ पैसा बुझाइसकेका थिए ती सबै त्यहाँ भेला भएका थिए । बाबुसाहेबको पूजा गर्न र मर्मत गर्न समाज हतारिएको थियो । कसैका हातमा लठ्ठी थिए, कसैको हातमा लाठी मुङ्ग्र थिए । सबै तयार थिए, कुनै युद्धका लागि तयार परेको सेना जसरी ।
“ढोका खोल् ए चोट्टा !” रामप्रसाद बाबुसाहेबको ढोका ठटाउँदै कराए ।
“छिटो खोल्, नत्र हामी नै तेरो ढोका फोरेर तेरो पनि टाउको फोर्छौं” दामोदर पनि बाहिरबाट कड्किए ।
“छिटो खोल् ढोका, साले चोर् !” बाहिरबाट सारा भिड करायो ।
“ ढोका खोल्.... ढोका खोल्...” भिड अझै चर्कियो ।
“ढोका खोल्दैन भने सालेलाई आगो लगाइदिने अब !” बाहिरबाट कसैले उच्च स्वरमा भन्यो । यही हल्लखल्ल भइरहेको बेला एक्कासी ढोका खुलेर भित्रबाट चारपाँच जना जति मान्छेहरु दौडिएर बाहिरका भिडमा मिसिए । अँधेरो अँधेरो भएकोले भित्रबाट आएको मान्छे यही हो भनेर ठम्याउन मुस्किल प¥यो ।
भिड करायो, “ठोक चोरलाई ! चेलीबेटी बेच्ने चोरलाई ठोक !!”
भित्रबाट अघि भिडमा मिसिन आइपुगेका मान्छेहरुले पनि स्वरमा स्वर मिलाए—“ठोक चोरलाई !” एकैछिनपछि भिडभित्रै चोर हराएको खैलाबैला मच्चियो । अँध्यारो भएको कारणले सबैले सबैको अनुहार चिन्न सकेनन् । आफ्नै साथीहरुमाथि लाठी हानिएला भनेर कसैले हातको लाठी कसैमाथि बजारेनन् ।
रामप्रसाद कराए—“लौ चोर भागे.... समात, दौड, दौड !”
भित्रबाट अचानक बाहिर निस्किएर त्यही भिडमा परेर एककार भएका मान्छेहरु पनि स्वरमा स्वर मिलाउँदै कराए—“लौ लौ चोर भागे । चोरलाई समात समात । दौड दौड ।”
बाबुसाहेब (कथा) Reviewed by K.D on 12:46 Rating: 5 रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोर...

No comments: