अविस्मरणीय यात्रा - K.D'S CaFe
Trending
Friday, 24 April 2015

अविस्मरणीय यात्रा

👩‍👩‍👧‍👧 👁‍
उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी मेरो दाजुसँग हिडिरहेको बेला अचानक बोलचाल भएको थियो कुनै दिन उनीसँग मेरो ।
पहिलो भेटमा नै उनको हेराइ बोलाई मलाई मन परेको मात्र होइन अचम्मको लागिरहेको थियो । सारै सरल भाषामा मीठो तरंगित स्वरमा अन्तर उमंगको भाव लुकाउन खोज्दै खुलेर बोलेका थिए उनी मसँग । सारै छोटो कुराकानी पछि हामी छुट्टिएका थियौँ त्यस दिन । त्यस पछिका दिनहरूमा किन हो किन त्यस मान्छेसँग भेट हुन पाए हुदो हो जस्तो भैरहेको थियो । तर मेरो घर सदरमुकाम देखि अलि टाढा पर्ने हुनाले त्यो साईत जुर्न सकेको थिएन । धेरै समय पछि एक दिन अचानक सदरमुकाम जाने काम पर्‌यो । आज भेट भैदिए हुन्थ्यो भन्ने आकांक्षा र मनमा अनेकौँ कल्पना गर्दै बस चढेँ । बजारको काम सकेर दाजुलाई भेट्ने बहानामा म उनको अफिसमा पुगेँ । बाटो भरी आज उनीसँग भेट भयो भने के के कुरा गर्ने होला भन्ने योजना बनाएँ । दाजुको अफिसमा पुगेपछि हाम्रो भेट भयो । म भित्रभित्रै अत्यन्त पुलकित थिएँ । मनमा एक किसिमको आनन्द, रोमान्स, उन्माद उत्पन्न भैरहेको भएपनि दाजुको अगाडि त्यस्तो कुनै भाव प्रकट हुन दिइन ।

सामान्य ‌औपचारिकता पछि हामी खाजा खान बजारतिर निस्क्यौँ । एउटा मिठाई पसलको सानो कोठामा बसेर सरबरी र छोला समोसा खाने सल्लाह भयो । अत्यन्त भावुक त्यत्तिकै रसिक र हसिलो बोलाई तीखो नजरले उनले मलाई मोहनी नै लगाए । उनीसँग एक्लै घुम्न बस्न कुराकानी गर्न पाए कस्तो हुन्थ्यो होला । यहाँ त दाजुको अगाडि त्यसरी खुलेर बोल्न पनि मिलेन । यस्तै यस्तै मनमा कल्पना गरिरहेकी थिएँ । हामी खाजा खादै थियौँ त्यसै बेला दाजुको मोबाईलमा घण्टी बज्यो । 'फोन आयो' भन्दै दाजु बाहिर जानु भयो । अब त्यहाँ हामी दुई मात्र भयौँ । मेरो अन्तरमनमा चलिरहेको आँधीबेहरी र उथल पुथल अनि भावुकता र मादकताको अनुभूति उनले पनि गरिरहेका थिए सायद । उनले एकोहोरो मलाई हेर्दै “ तिमी त कति हिस्सी परेकी, यसरी नै आँखा नचिम्लिकन हेरीराखौँ जस्ती ” भने । म लाजले भुतुक्क भएँ । केही बोल्नै सकिन । नारी सुलभ लज्जा पनि अचम्भको हुन्छ । जे खोज्यो त्यही पाउँदा पनि टपक्क टिप्न नसक्ने । मेरो मनले उनी यस्तै यस्तै बोलिरहुन, म आनन्द बिभोर भएर सुनिरहुँ भनिरहेको थियो भने फेरि त्यही मनमा एक प्रकारको लज्जा उत्पन्न भएर मलाई बाहिर धकेलिरहेको थियो । म बाहिर जाँदै गर्दा उनले “ किन यति सारै लजाएकी, खै तिम्रो मोबाइल मलाई देऊ त हेरौँ ” भने । मैले बाहिरतिर हेर्दै आफ्नो मोबाइल उनीतिर बढाएँ र फुत्त बाहिर निस्केँ । एकै छिन पछि दाजु भित्र पस्नु भो दाजुको पछि पछि म पनि भित्र पसेँ । खाजा खाने टेवुलमा मेरो मोबाइल थियो । मैले आफ्नो मोबाईल उठाएँ र हामी सबै त्यहाँबाट बाहिर निस्कियौँ । सामान्य कुराकानी पछि बिदा हुदै म आफ्नो गन्तव्यतिर लागेँ ।
उनले मेरो मोबाईलमा आफ्नो नम्बर सेभ गरिदिएका रहेछन् । मनमा एक किसिमको आनन्द र अनौठो अनुभूति बोकेर बाटो भरी मनमा अनेक कुरा खेलाउदै म घर पुगेँ । त्यस रात अबेरसम्म मलाई निद्रा पनि लागेन । मेरो आफ्नै लजालुपन देखि सारै रिस उठेर आयो । चाहेको जस्तै समय पाउँदा पनि उपयोग नगरेर भागेर बाहिर निस्केकोमा पछुतो लागिरह्यो । मन भरी अघाउन्जेल गफ नगरेर किन बाहिर निस्केकी हुँला भनेर आफैलाई गाली गरिरहेँ । उनलाई फोन गर्न मन लाग्यो तर त्यहाँ पनि उनले के सोच्लान भनेर लजाइरहेँ । फोन गर्ने आँट आएन ।
केही दिन पछि दिदी बिरामी भएको खबर आएको हुनाले आमा र म दिदीलाई भेट्न दिदीको घरमा गएका थियौँ । दिदीलाई टाइफाइड भएको रहेछ । खाना खाएर केही बेर कुराकानी गरियो । राती एघार बजेतिर सुत्‍नै लाग्दा मेरो मोवाइलमा घण्टी बज्यो । यति राति कस्ले फोन गर्यो होला भनेर हेरेको त उनैले फोन गरेका पो रहेछन् । फुत्त बाहिर निस्केर फोन उठाएँ । उनले भलाकुसारी सोधे । मैले दिदीको घरमा भएको कुरा भनिन । घरैमा छु भने । उनले “ भोलि कतै घुम्न जाउँ न ” भने । मलाई फसाद पर्‍यो । एक त मेरो घरबाट बजार पुग्न बसमा आधा घण्टा लाग्थ्यो । अँझ दिदीको घरबाट त अरु आधा घण्टा लाग्छ । अब आमालाई अनि दिदीलाई के भनेर बहाना बनाउने । फेरि उनको त्यो प्रस्ताव पनि अस्वीकार गर्न सक्ने कुरै थिएन । अब के भनेर यहाँबाट उम्कने । यस्तै सोच्दै म त त्यसै टोलाउन पो थालिछु । उनले उताबाट “ के भयो, किन नबोलेकी ? भो नजाने भए केही छैन, म मात्र एक्लै जाउँला । मैले तिमीलाई भन्न नहुने कुरा भने कि क्या हो, मलाई माफ गरी देऊ है ? न रिसाउ है ? मेरो केही टाढासम्म जाने काम थियो । फर्किदा तिम्रै घरतिरको बाटो भएर फर्कन्थ्यौँ । फुर्सत भए जाउँ मात्र भनेको मात्र । दुख नमान्नु है ” भने । मैले हत्तपत्त भने “ होइन होइन, म तपाईंसँग घुम्न जान तयार छु । म भोलि आईहाल्छु नि ! बरु कति बजे कहाँ भेट्ने ?” भनेर हतार हतार सोधेँ । खाना खाएर बिहान दश बजेतिर खाद्य गोदाम अगाडि भेट्ने सल्लाह गरी फोन सम्पर्क बिच्छेद गर्यौँ । अब भने मलाई फसाद पर्‍यो । बिरामी दिदीलाई भेट्न आएकी, आमालाई दिदीको घरमै छोडेर के बहाना गरेर त्यहाँबाट उम्कने भन्नेमा मलाई सारै अप्ठ्यारो पर्‍यो । बिहान दश बजे सदरमुकाम पुग्नु पर्ने जरुरी काम परेको भन्दै जसो तसो बहाना बनाएर छिटो छिटो खाना खाएर म नौ बजे त्यहाँबाट निस्केँ । मनमा एक किसिमको डर लागिरहेकोले मुटुको ढुकढुकी बढिरहेको थियो । लाज पनि लागिरहेको थियो । कसैले देखेर घरमा कुरो पुर्‍याई दिए भने के गर्ने भन्ने डर पनि लागिरहेको थियो । आ......जे होला होला ! भन्दै म उनीसँगै आजको दिन व्यतित गरेरै छोड्छु भन्ने अठोट गर्दै अगाडि बढेँ । हुन पनि मैले उनको यो प्रस्तावलाई कसरी लत्याउन सक्थेँ । ठिक दश बजे हामी खाद्य गोदाम अगाडि भेट भयौँ । हामीले खाना खायौँ कि खाएनौँ भनेर एक आपसमा सोध्ने औपचारिकता निभायौँ । म बिहान निक्कै टाढाको एक स्थानमा ब्यूँझिएकी थिएँ भने उनी हाल यही बस्थे । मैले उनको निश्छल र मदहोस भावमा व्यक्त गरिएको अनुरोधलाई नकार्न सकिन र तय गरिएकै समयमा हामी भेटियौँ । अनि उनकै बाईकमा सवार भएर हामी उत्तरतिर हुईकियौँ । एक जवान युवक र एक प्राकृतिक सुन्दरता, लाली, लज्जा, समर्पण र चरम यौवनले पूर्णरुपमा भरिएकी म करिव वीस वर्षे युवती । दुवैका मनमा तरंगहरू उठे । कताकता काउकुती लागेजस्तो भो । मोटरसाइकलले ग्राभेल सडकमा जोल्टिङ खाँदा एक आपसमा हुन पुग्ने हलुका स्पर्शहरू अति आनन्दमय हुन्थे । मस्तिष्कमा एक किसिमको मीठो करेन्ट लाग्थ्यो, दुवैलाई । उनी पुरुष भएर होला, थाहा नपाए झैँ गर्दथे भने म अलि बढी लज्जापनले ढाकिएको भान गर्दथेँ । तर म चाहन्थेँ फेरि पनि ग्राभेल बाटोमा खाल्टा खुल्टी परुन र हाम्रो बाईक अँझै मादक बनोस् । सायद उनी पनि यही चाहन्थे । बाईकमा ब्रेक लाग्दा हामीहरू एक आपसमा ठोकिन्न पुग्थ्यौँ । एक अर्काको तातो अनुभूति हुन्थ्यो । मनमा एकप्रकारको मीठो दुखाई अनुभव हुन्थ्यो । म चाहन्थेँ त्यो क्षण कहिल्यै नटुटोस् । सायद उनले पनि मेरो तातोको अनुभव गर्थे होला । बाहिर व्यक्त गर्न नसकिने उत्कर्ष सुखानुभूति गर्दा गर्दै हाम्रो यात्रा त छोट्टिन पो थालेछ । एक आपसमा धकेला धकेल गर्ने, खप्टिने, तात्‍ने अनि तताउने यो खेल कहिल्यै समाप्त नहोस भन्ने चाहना तिव्र हुदाहुदै पनि बाटो र समयले हाम्रो भावना बुझेनछ क्यारे, बाईक केही समयका लागि रोकियो । सायद उनको त्यहाँ केही काम थियो । उनी आफ्नो काम चाँडै सकेर फर्कन चाहन्थे भने म पनि यो करिव आधा घण्टाको अन्तरालमा बितेका क्षणहरू कल्पिदै आनन्दित भैरहेकी थिएँ । आधा घण्टाको पर्खाइ पछि उनी फर्केर आए । हामी फेरि त्यसै गरी बाईकमा चढ्यौँ र पश्चिमतिर लाग्यौँ । त्यसै गरी बाईक फेरि हुईकियो उफ्रदै मच्चिदै र थच्चिदै । केही समय पछि हामी एउटा खोलाको किनारमा बाईकबाट झर्‍यौँ । कुर्कुच्चा देखि अलीकति माथिसम्म आईपुग्ने निर्मल, अनि पीँधमा रोडाहरू देख्न सकिने सफा पानी हलुकासँग कुल कुल आवाजमा बगिरहेको थियो । उनी बाइक चढेरै पारी पुगे र मलाई खोला तरिरहेको नियाल्न थाले । मैले सुरुवाल अलिकति माथि सारेकी थिएँ । म खोलाको पल्लो किनारमा पुगेपछि उनले सोधे “ यो दायाँ खुट्टाको गोलिगाँठोमा कालो धागो किन बाँधेकी ?” मैले जवाफ दिएँ “ कसैको आँखा नलागोस् भनेर ” । उनी खितित्त हाँसे । मैले लज्जा अनुभव गरेँ । मैले अनुभव गरिरहेकी थिएँ– उनका आँखा मेरा सुन्दर सुकोमल र रसिला पिडौलामा खेलिरहेका थिए । मैले उनका आँखा तर्फ नजर लगाएँ– उनी लोभिएका थिए । उनका आँखा लागिसकेका थिए मेरा पिडौलामा । म पनि आफैमा आनन्दविभोर भैरहेकी थिएँ ।
खोला पार गरेपछि फेरि म बाईकमा उनीसँगै बसेँ । खोला किनारभन्दा अलि पर एउटा चिया पसल रहेछ । त्यही बसेर हामीले नमकिन र चिया खायौँ । त्यसपछि नजिकैको सामुदायिक वन भित्रको चउर रोज्यौँ हामीले बिश्रामस्थलका रुपमा । निक्कै बेर जीवनका अनेक कोणहरूका बारेमा कुराकानी गर्यौँ । आ-आफ्ना अनुभव, सुखदुख, हर्ष उल्लास, आदिका बारेमा कुरा गरिरह्यौँ । ओहो... समय बितेको पत्तै भएन । बेलुकाको पाँच बज्न थालिसकेको रहेछ । अब जानु पर्छ, घरकाले थाहा पाए भने बित्यास पर्छ भन्दै मैले अब यहाँबाट अगाडि बढ्ने आग्रह गरेँ । अलिबेर अगाडि गएर दक्षिण मोडिएपछि मेरो गाउँ आउथ्यो । हामी फेरि बाइकमा चढ्यौँ । तर यति खेर भने हामी दुईको बीचमा एउटा झोला थियो । किनभने हामी छुट्टिने स्थान नजिकिदै थियो । म आफू आनन्दित हुँदै उनलाई अरु व्यथित गर्न चाहन्नथेँ । बिस्तारै प......र हुन चाहन्थेँ । किनभने हामीहरूलाई एक अर्कासँग छुट्टिनु थियो । यस पछिको यात्रामा उनी बोलिरहे । मैले केवल अँ... अँ... मात्र भनेँ । “ फेरि अर्को कुनै दिन यसरी नै घुम्ने है ” भन्दै उनले आफ्नो मन खोले तर मेरो मन भारी भएर आयो । घर नजिकिदै गर्दा ममा डर लज्जा अनि संकोच भरिदै आयो । मैले मन खोलेर “ हुन्छ ” भन्न पनि सकिन । मैले आफूलाई व्यक्त गर्नै सकिन । हृदयमा समर्पणको भावना बोकेकै भए पनि संकोच, मर्यादा अनि लज्जाको कारण बाँकी यात्रा अवधिभर म खुम्चिइरहेँ छोइएकी बुहारीझार जस्तै । मेरो गाउँ आईपुग्यो, उनले बाईक रोके । म बाई... भन्दै हस्याङ फस्याङ घरतिर लामा लामा पाईला चालेँ । उनी बाईक स्टार्ट गरेर आफ्नो गन्तव्य तर्फ हुईकिए ।
त्यस पछि आजको दिनसम्म हाम्रो भेट भएको छैन । फोनमा कुरा पनि भएको छैन । सुनेकी छु, उनी घर गएका छन् रे आजकल । घर परिवार, बालबच्चा भएका मान्छे, उनी आफ्नो घर जाने नै भए । तर किन किन मलाई सारै ईश्या लाग्छ, त्यसै त्यसै मन कुढिन्छ । मेरो मनले खाएको मान्छे त अर्कैको भैसकेको रहेछ । ऊ मेरो हुन सक्दैन । उसलाई मैले आफ्नो बनाउन पनि मिल्दैन । पाकेको नयाँ फल टिप्न खोज्नु र त्यसको स्वाद चाख्नेन चाहना राख्‍नु अधिकांश पुरुष जातिको स्वभाव हुन्छ, प्रकृति पनि हो । उनी पनि मसँग त्यही चाहना राख्थे होला । उनले कुरैकुरामा कैयौँ पटक यस विषयमा संकेत दिन खोजिरहेका थिए । भित्रै देखि चाहना हुँदा हुँदै पनि नारी सुलभ लज्जा, डर अनि संकोचको कारणले आफूलाई त्यसै गरी समर्पण गर्न मैले सकिन । तर पनि
त्यस दिनको त्यो यात्रा कुराकानी र बिचार आदान प्रदानबाट म रमाइरहेकी थिएँ । हृदयमा एक किसिमको कौतुहलता र जिज्ञासा उत्पन्न भैरहेको थियो । अँझ भनौ भने तृष्णाको प्रादुर्भाव भैरहेको थियो अन्तर हृदयमा ।
आज पर्यन्त हामी यहीँ छौँ । यही भूमिको उनै उनै कुनामा । तर फेरि परिचय हुनु अघिका अपरिचित जस्तै । त्यो दिनको असमन्जस्यतालाई सम्झिदा अवाक हुन्छु, आफू व्यक्त हुन नसकेकोमापश्चाताप हुन्छ । हामीले पुरै दिनभरिको यात्रा गर्‍यौँ । उनी खुलेर बोलिरहे, म थोरै बोलेँ र धेरै सुनिरहेँ । अनि आँखै आँखामा हाम्रो आ-आफ्ना अनुभूतिहरू व्यक्त भैरहे । हामी दुवै पुलकित थियौँ । अनि चाहन्थ्यौँ यो यात्रा कहिल्यै नसकियोस् अनन्त अनन्तसम्म चलिरहोस् । तर यात्रा टुङ्गिनु पर्थ्यो टुङ्गियो । हामी दुवै एक आपसबाट टाढा भयौँ । उस्तै अपरिचित जस्तै । मझेरीबाट
अविस्मरणीय यात्रा Reviewed by K.D (Kamal Dhital) on April 24, 2015 Rating: 5 उनको र मेरो चिनजान धेरै लामो होइन । उनी यतै सदरमुकाममा जागिर खान्छन् मेरो दाजु (मेरो दाजुको साथी) को अफिसमा । घर पश्चिमतिर हो रे । उनी म...

No comments:

Views