Trending
Friday, 24 April 2015

राजनीति र नेता

राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावेश गराई मूलधारमा हिडाउन सक्नुपर्छ । देशको प्राकृतिक सम्पदा दोहन गरी देशलाई समृद्ध बनाउनुपर्छ । तब मात्र राजनीति सबल र सफल हुन्छ ।
नेपालको दुर्गम पहाडी गाउँमा एम.ए. पढेको एउटा नव युवक रहेछ । ऊ त्यस गाउका मात्र नभएर जिल्लाभरिका सामाजिक र आर्थिक पीडामा परेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भनी चिन्तन गर्दो रहेछ । प्रत्येक हप्ता विद्यालय छुट्टी भएपछि मुरली र डायरी एउटा सानो झोलामा राखी ऊ नचिनेको गाउँमा जाने गर्दो रहेछ । जब वास बस्नु पर्यो सबैभन्दा सानो घर छानेर वस्दो रहेछ । जब सबैभन्दा सानो घरमा पुग्छ वास माग्दा उसको कुरा घरका मानिसले पत्याउदा रहेनछन् । तैपनि ऊ त्यहाँ बसेरै छाड्दो रहेछ । त्यसो गर्दा विपन्नभन्दा विपन्न, सुकुम्वासी हलिया आदिका घरहरू त्यसका रोजाइमा पर्ने रहेछन् । ऊ त्यस घरमा जे पाक्यो त्यही खाने र जस्तोमा पायो त्यस्तैमा सुत्ने गर्दो रहेछ । पहिले घरका मानिस पनि खुसी हुने तर पछि आश्चर्य मान्दा रहेछन् । जे भए पनि ती परिवारसँग घनिष्ट मित्रता हुन्थ्यो ।
एक दिनको कुरा थियो ऊ सबैभन्दा सानो वट्टा जस्तै एकतले कटेरोमा ऊ वास बस्न पुग्यो । त्यो घरका मानिसले सोचे यो मानिस आयो । अब चामल कुखुरा किन्न पैसा आउँछ अनि उनीहरू पनि राम्रो खान पाउने भए ।
तर त्यसो भएन पिंढीको वासको खापामा लोग्ने स्वास्नी उभिए । आश्चर्य मान्दै भित्र जान आग्रह गरे । पाहुना आउँदा ओछ्याउने गुन्द्री ओछ्याइ दिए । अगेनाका छेउमा पतपत धुँवा आइरहेको थियो । त्यसैमा कहिले कता कहिले कता मुन्टो बटार्दै जाडो महिनाको चिसोलाई ऊ परास्त गर्दै बाँच्यो । खानको लागि थोरै तरुल गिठ्ठा र २ वटा रोटी बनाउन सक्ने पीठो रहेछ । एउटा रोटी सानी पाच सात वर्षकी छोरीलाई र एउटा रोटी पाहुनाले खाए । दाउरा छेउमा राखेको थियो आगो बाल्दै गर्नु पर्दथ्यो । ऊ कसरी सुकुम्वासी भयो भन्ने कथा र उसका दिनचर्याको बारेमा सुनेपछि लोग्ने एउटा ठुलो दाउराको सिरानी लगाएर शुद्ध भुइमा सुत्यो । श्रीमती पनि खरको एउटा मुठो सिरानी लगाएर छोरीसँग शुद्ध भुईमा सुते । ऊ भने गुन्द्रीमा काठको पोरा सिरान लगाएर सुत्यो । वेलावेलमा चिसो भएर एक दुई पटक अगेनाको आगो उसले के फुकेको थियो लोग्ने जुरुक्क उठेर आगो वाल्दथ्यो । शायद यही पाहुनाको विशेष हेरविचार र सत्कार थियो । उसले सोच्यो “म एम.ए. पास देशको युवा, यस्तो गरिबी अवस्था र यो जस्ता अन्य कतिको कसरी सेवा गर्ने सकिन्छ” सोच्दा सोच्दै ऊ पनि निदाएछ ।
भोलि बिहान हिजोका रोटीको पैसा भनेर लोग्नेलाई र स्वास्नीलाई पालैपालो दियो तर दुवैले लिन मानेनन् । उसले गुन्द्री मुनि रु. १००।– राखेर बिदा भयो । चिन्ता गर्दै स्कुलमा आए पछि सुकुम्वासीको जिल्लाभरिको अध्ययन गर्न एउटा फारम तयार गर्‍यो । जिल्ला पंचायतले सहयोग गरी उसको फारम सहित सबै गा.वि.स. सचिव र प्रधानपञ्चलाई पुग्ने गरी पठायो । प्रधानपञ्च र सचिवले अब थप भत्ता पनि आउने भयो भनेर केही गा.वि.स.को फाराम बुझाए तर अधिकांशले भत्ता थप केही नभए काम नगर्ने जानकारी दिए । उता जिल्लाको नेताहरूले या त हाम्रो प्रतिस्पर्धा गर्ने राजनीति गर्न थाल्यो या त गरिबलाई भट्काउन भनेर उसलाई प्रतिबन्ध लगाए । त्यहाँ असफल त भयो तर विपन्न वर्गको हितको चिन्तनले उसको दिमागमा जरागाडिसकेका थिए । त्यस्तै वेला जनमत सङ्ग्रहको घोषणा भए छ र केन्द्रको कुनै ठुलो नेतासँग उसको सामिप्यता बढेछ । जनमत सङ्ग्रह २०४६ सालको आन्दोलित पार्टीका कतिपय काममा ऊ खटेर लागेछ । उसको नेता चाहि सानु १० वर्षको उमेरदेखि राजनीतिमा चासो राख्ने र सङ्गठन गर्दै मेची महाकाली गर्दो रहेछ ।

लामो समयसँगै बसेको र अह्राएको सबै काम गर्ने नेताको भक्त थियो ऊ । नेताका बारेमा केन्द्र क्षेत्र र गाउमा आलोचना भए ऊ सहन गर्न सक्तैनथ्यो । नेताले पनि उसलाई अति विश्वास गर्ने र सानु ठुलो जिम्मेवारी पनि दिएछ । नेता साँच्चै त्यागी इमान्दार लोभ लालच नभएको निष्ठाको राजनीति गर्ने गर्दथ्यो । ऊ गरिब थियो तर निष्ठावान कैयौँ अवसर पायो तर इमान्दार । त्यही इमान्दारीको कारण पार्टी र सरकार दुवैको नेतृत्व गर्न पायो । ऊ त्यागी तर विवेकी छ भनेर जनताले र पार्टीका नेता तथा कार्यकर्ताले साथ दिएछन् । नदिनु पनि कसरी ऊ १२ दिन बाहिर गएको बेला अज्ञात समूहले उसको घर आगो लगाई दिएछन् र ऊ बाहेक सबै परिवारका सदस्य र सम्पत्तिको नोक्सान भएछ ।
ऊ सत्तामा पुग्यो त्यही इमान्दार र निष्ठाले । तर दुर्भाग्य उसको इमान्दारीता सदाको लागि साटिएछ । उसँग सुविधा भए पछि पुराना साथीलाई बिर्सेर नयाँ साथीसँग बस्न थालेछ । राम्रा राम्रा महिलाहरूसँग सम्बन्ध बढाउन थालेछ । सरकारी लाभका पदहरू र पार्टीका केन्द्रीय सदस्यहरू पैसामा मोलाई गरी बिक्री गर्न थालेछ । पुराना निष्ठावान सहयात्रीलाई भुल्दा भुल्दा यति भुल्यो कि उनीहरूले भेटै गर्न पाउन छाडे । उसँग एकै ओछ्यानमा सुतेको र धेरै दुःख पाएको त्यो युवालाई धेरै आश्वासन दिएछ । तर जब लाभको पदको नियुक्ति गर्ने बेला भयो अरूलाई नै बाँड्दो रहेछ । उसको कुनै कुरामा पनि पालो आएन । उसका छोराछोरी कुनैलाई पनि कतै कुनै काम दिएन । बिचरा उसको जीवन जर्जर र धरासायी बनिरहेको थियो । कैयौँ पटक भेटभयो । भेटमा राम्रो बोल्ने तर चाटुकारले पैसा बुझेर सङ्केत गरेकालाई लाभको पद बाड्न झलझली देखेपछि उसको आत्मा पनि रोएछ ।
राजनीतिकै सिलसिलामा ऊ काठमाडौँ आएका बेला थियो । पैसाको अभाव थियो । नेताले बोलाए पछि जसरी भएपनि आउनै थियो, आयो र एउटा साथीकोमा डेरामा बस्यो । २०३८/३९ साल तीरको कुरा थियो । मनोरञ्जनमा साधन रेडियो र सिनेमा नै थिए । एक दिन उनको साथी जसकोमा जयनेपाल हलमा सिनेमाको टिकट काट्न भने । उसले अस्वीकार गरेन । सधैँ राम्रा कपडा लगाएर भलादमी भएर हिँड्ने उसको बानी थियो । त्यस दिन त झन् धेरै मानिससँग भेटहुन्छ भनेर सेतो सर्ट आइरन गरेको लगाएर चिटिक्क परेर टिकट काट्न गयो । उसको भनाइमा यो श्रावण महिनाको ८ गते थियो । अलिकति पानी परेको थियो । काठमाडौँको प्राय सबै तीरको सडक त्यति व्यवस्थित थिएन रातो माटो, हिलो र खाल्डा थिए । त्यसबेलाको जीवनस्तर पनि त्यति विकसित नै सकेको थिएन ।
अधिकांशले हात्ती छाप चप्पल अर्थात् भुक्के चप्पल लगाउँथे । अहिलेका कतिपय ओहोदामा बसेका ठुला राजनीतिज्ञहरूलाई पनि त्यसबेला चप्पलमा देखेकी थिएँ । जब ऊ सिनेमा हलको टिकट काउण्टर अर्थात् ४/५ वटा काठका प्वाल भएका सिनेमा हल बाहिरी भागमा पुगे कुनै एकजना पनि लाइनमा लागेका थिएन । उसले मनमनै सोचे म पहिला भए छिटै आएर धेरैबेर कुर्नुपर्यो त ठिकै छ नि । एकछिन पछि ऊ जस्तै अर्को आयो । क्रमशः सो लाइन बढ्दै गयो । मानिसको सङ्ख्या निकै धेरै भयो किनकि सिनेमा निकै राम्रो थियो । प्राय सबै वर्ग धनी, गरिब, युवा, वृद्ध, प्रौढ, केटाकेटी, महिला पुरुष, पहाडे, जनजाति, मधिसे, मुस्लिम आदि प्रायः नेपालीहरूको सबै वर्गको त्यहाँ प्रतिनीधित्व थियो । टिकट दिनेकाठको प्वाल जहाँ मुस्किलसँग ४ वटासम्म हात पस्न सक्थे । त्यसलाई लक्ष्य गरेर ऊ पछि अरू क्रमशः लाइन मिच्न खोज्दा त्यही लाइनले कारबाही गर्दथ्यो । अरूले प्रतिरोध गर्दथे र न्याय सम्पादन समेत गर्दथे । को कुन व्यक्ति पछि लाइन बस्ने भन्ने बारे अनुशासित गराउँथे । सबै सन्तुष्ट थिए किनकि कसको पछि आफ्नू पालो आउँछ भनी उनीहरू ढुक्क थिए । सबैभन्दा ढुक्क मेरा आफन्त थिए किनकि त्यो लाइनको मुखैमा ऊ थियो त्यसैले उनको टिकट पक्का थियो ।
सबै टिकट दिने प्वाल (काउण्टर) खुल्ने प्रतीक्षामा थिए । ऊ पनि २ वटा बालकोनीको रु ३० (१५× २) मुठ्ठीमा राखेर प्रतीक्षामा थियो । भित्र हात पसाएपछि मुठ्ठी खोल्नु पर्दथ्यो । मुठीमा भएको पैसाको आधारमा टिकट हातमा हालिदिन्थ्यो र मुठी बन्द गरी प्वाल बाहिर हात ल्याउनु पर्दथ्यो । टिकट काउण्टर खुल्यो उसले रु. ३० सहित मुठी पारेर भित्र हात छिरायो । अरूले पनि अटी-नअटी हात भित्र छिराए । भित्रबाट टिकटका लागि उसले मुठी खोलेकै थिएन सबै मानिस एकैठाउँमा पोको परे । अनुशासित लाइन सबै भताभुङ्ग भयो । एकाएक उनका दुवै काँध गरुङ्ग भयो । के हो भनी हेर्दा त आज ज्ञाज हिलो कुल्चेका भुक्के चप्पलसँग दुईजनाले दुईतिर उनका काँधमा टेकेर टिकट काट्दै रहेछन् । त्यो देखेपछि ऊ रिसले चुर चुर भएर दाहिने हात निकालेर बाहिर निस्केन । देव्रे हातले भए पनि काँधमा चप्पल सहितको खुट्टा राख्नेका पछाडि २/२ मुक्का लगाए । एउटाले काँधबाट खुट्टा हटायो तर अर्काले उल्टै हप्कायो - ए खोजिस् हान्छस् ? मर्लास् नि ?
अन्तमा मेरा आफन्तले जित्न सकेन । उसले हार्न चाहेन । उसको हात भित्रबाट बाहिर धकेलियो उसले मुठी बाहिर निकाल्यो । काउण्टर बन्द भयो । सबै हात दरफरिएको थियो । मुठ्ठी खोलेर हेर्दा च्यातिएको त्यही ३० रुपिया थियो टिकट थिएन । ऊ जस्तै अरू पनि अलमलिए । हुन त भित्र टिकट दिने अर्का चिनेका टाढाको कुनै आफन्त नै थियो ।
जे भए पनि टिकट मिलेन । सेतो सर्टको ढाड र काँधमा हात्ती छाप चप्पलका राम्रा राम्रा छाप थियो । बाहिरको हिलोको केही अश भुक्के चप्पलको कुचीले उनको सेतो सर्ट मजाले रंगिएको थियो । त्यहीबेला उसको साथी आइपुग्यो ।
“खै टिकट भयो ?” भनी उसले सोध्यो ।
“भएन टिकट,” भन्दै सबै वृत्तान्त उसले साथीलाई सुनाए । सर्ट खोलेर गोरखापत्रमा लपेटियो । वनियन मात्र लगाएर ऊ उभियो । पेट मिची-मिची एकछिन हाँसेर साथीले भन्यो, “यतिभए पछि सिनोमा त हेर्नै पर्यो ।”
एकछिन साथी हरायो । उसले त्यही काँधमा चढेर टिकट काट्ने व्यक्तिसँग रु.१५ पर्ने टिकटलाई रु.६० मा ब्लयाकमा किनेर ल्यायो । दुवैले सिनेमा हेरेर डेरामा फर्के । यो घटनालाई उसले राजनीतिमा ढालेर भने सत्ता भनेको त्यही टिकट काउण्टर हो । काउण्टर नखुलुञ्जेल र बन्द भए पछि त्यसका नजिक कोही हुँदैनन् । भए पनि अनुशासित मात्र हुन्छन् । खुलेपछि त्यही भुक्के चप्पलधारी कहाँबाट आउँछन् ? थाहै हुँदैन । नेताका अघि पछि सत्तामा नपुगुन्जेल साथ रहनेहरू नेता सत्तामा पुगेपछि टाढा हुन्छन् । नेता आफन्त नै भए पनि नजिककै आदर्शवान्, निष्ठावान् टाढा बनाउँछ व्लाकिया जस्तै चरित्रका नेतालाई घेर्छन् । सत्ता हातबाट गुमेपछि ती फटाहाहरू जसले सत्ता हात पारेको छ त्यही पुग्छन् र त्यो नेतालाई छाडिदिन्छन् । अनि तिनै पुराना साथीसँग माफी माग्दै नेता बस्छ । फेरि सत्ता आयो भने पनि त्यस्तै हुन्छ । ऊ जस्तै भए पनि लाइनमै बसेर टिकट पाइन्छ भन्ने विश्वासका थिए । त्यसैले उनले कहिल्यै लाभको पद पाएनन् भौतिक रूपले दुःखी, दरिद्री भए पनि उनको आत्मा पवित्र थियो ।
ऊ देश र जनताको चिन्ता गर्दथ्यो, अनुशासन र निष्ठामा नै विश्वास गर्दथ्यो । उसको केही वर्ष पहिले देहान्त भयो, पार्टीका शीर्षस्थ नेताले उसको शवमाथि पार्टीको झन्डा ओढाए । हजारौँ नेता कार्यकर्ता र जनता दाह संस्कारमा सहभागी भए । धेरै ठाउँमा शोकसभा गरिए । उसका नाममा पत्रपत्रिकामा लेखियो, पुस्तक पनि प्रकाशित भए । धेरै प्रशंसा भयो, स्मरण गरियो । त्यतिमात्र नभएर प्रतिष्ठान खोलियो, सुन्छु उसको नामको प्रतिष्ठान धेरै नाफामा चलेको छ । प्रत्येक वर्ष उनको फोटोमा माल्यार्पण गरिन्छ उत्सव मनाइन्छ । उसका परिवारले उसको नामको प्रतिष्ठान सुनेका अवश्य होलान्, देखेका छैनन् । उनीहरू निर्धन छन्, अनेकौँ दुःख कष्टका साथ जीवन यापन गरिरहेका छन् र आज पनि त्यही पार्टीलाई भोट दिन्छन् । नेताको त्याग त नेतृत्व गर्नेका लागि तयार गरेको सिंढी पो रहेछ ।
राजनीति र नेता Reviewed by K.D on 13:42 Rating: 5 राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावे...

No comments: